ट्रेन्डिङ

वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के, एक नेपाली नागरिक पक्राउ

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगन्जको आदर्शनगरस्थित दुईटा क्यासिनोको छड्के अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सिंहले बुधबार लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो अनुगमन गरेका हुन् ।

क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर उनले पाएका थिए ।

अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको ती नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन अनुमति पाएका क्यासिनोमा जुवा खेल्न र क्यासिनो स्थलमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमै वर्जित छ ।

क्यासिनोमा प्रवेश गर्नेहरूको अभिलेख व्यवस्थापन रीतपूर्वक भएको नदेखिएपछि मुख्यमन्त्री सिंहले ती दुवै क्यासिनो व्यवस्थापनलाई एक महिनायता प्रवेश गरेकाहरूको परिचयपत्रसहितको प्रविष्टी सूची र एक साताको सिसिटिभी फुटेज, कर्मचारीको विवरण लगायतका कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका छन् ।

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले बुधबार वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोका कारण एक नेपालीले ४० लाख रुपैयाँभन्दा बढी रकम गुमाएको सूचना प्राप्त भएपछि क्यासिनो अनुगमन गरिएको बताए 

उनले सुरक्षालगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए ।

मुख्यमन्त्री सिंहले क्यासिनोबाट प्राप्त हुने दस्ताबेजको अध्ययन तथा विश्लेषणका आधारमा थप कारबाही अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै