काठमाडौं । राजधानी काठमाडौंबाट आधा किलो भन्दा बढी सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका मुकेश महादेव चाँगुलाई पक्राउ गरेको हो ।
उनी भारतको महाराष्ट्रका रहेको काठमाडौं प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ७६१।६६ ग्राम सुन बरामद गरेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार साथै ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ ।
चाँगुबाट प्रहरीको टोलीले ५ लाख १० हजार नगद पनि बरामद गरेको जनाएको छ । विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ ।