६ असोज, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय रौतहटले राजपुर नगरपालिकामा देखापरेको झाडापखाला तथा हैजा रोकथामका लागि एरिया सिल गर्न आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुचना जारी गर्दै यस्तो आदेश दिएका हुन् ।
नगरपालिकाको वडा नम्बर ४ को जोवैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलिहानदेखि डा. नुरुल होदाको घरको वरिपरिसम्मको घरधुरी क्षेत्रको एरिया सिल गर्न आदेशमा भनिएको छ । पालिकामा हैजा तथा झाडापखाला संक्रमण नियन्त्रणका लागि प्रशासनले विभिन्न ४ बुदेँ कार्यहरु नगर्न/नगराउन सुचनामार्फत आग्रह समेत गरेको छ ।
जसअनुसार पहिलो नम्बरमा तोकिए बमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमतिबिना स्वास्थयकर्मी र सरसफाइकर्मीहरु र अत्यावश्यक एवम् अन्यन्त जरुरी काम बाहेक हिडँडुल गर्न र एक अर्काको घर वा बस्तीमा आवतजावतमा नगर्न आदेश दिएको छ । यसैगरी दोस्रो नम्बरमा अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरुको आवतजावतमा नियन्त्रण गर्न भनेको छ ।
यस्तै तेस्रो तथा चौथो नम्बरमा क्रमश:उक्त क्षेत्रमा माछा,मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न तथा सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र शर्तहरुको कार्यान्वयन गर्न तथा गराउन प्रशासनले सुचनामार्फत आदेश दिएको छ ।
झाडापखाला तथा हैजा रोग नियन्त्रण तथा अन्य व्यक्ति र समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रलाइ सिल गर्ने आदेश दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । उनका अनुसार अर्को सुचना जारी नहुन्जेलसम्म यो आदेश जारी रहनेछ ।
यहि असोज २ गते गरिएको चेकजाँचका क्रममा वडा नम्बर ४ को १ जना मानिसमा झाडापखालाको संक्रमण देखिएको थियो । यधपी पछिल्लो समय यो रोगका बिरामीहरुको चाँप बढिरहेकोले नियन्त्रण गर्न असहज भएको भन्दै नगर कार्यपालिकाको कार्यालय राजपुरले जिल्ला प्रशासनलाई एरिया सिल गरि सहयोग गर्न अनुरोध सहितको पत्र पठाएको थियो ।