ट्रेन्डिङ

गर्भपतन सम्बन्धी औषधी जथाभावी बेच्ने कार्यलाई नियन्त्रण गर्छौः महानगरप्रमुख सिंह

६ असोज, बीरगन्ज । सुचिकृत स्वास्थ्य संस्थाहरुबाट हुने सुरक्षित गर्भपतनका कारण मातृ मृत्युदरमा कमि आएकोमा सरोकारवालाहरुले बताएका छन् । बीरगन्जको होटल मकालुमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

‘मिडिया सचेतना ः सुरक्षित गर्भपतनको लागि जवाफदेहिता’ को नारासहित आयोजित कार्यक्रममा चेतनाको अभावमा जथाभावी गर्भपतन गराउँदा ज्यानको जोखिम बढेको बताएका हुन् ।

सुरक्षित गर्भपतनका लागि कानुन नै निर्माण गरेर महिला तथा युवतीहरुका लागि सहजता प्रदान गरेको भएपनि उनीहरुमा जनचेतना नहुँदा कतिपय महिलाले ज्यान समेत गुमाउने गरेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्भपतन जस्तो विषयमा संवेदनशील बन्नुपर्नेमा जोड दिए । सुरक्षित गर्भपतनबारे व्यापक प्रचार प्रसार हुन नसकेको बताउँदै उनले यसबारे सञ्चार माध्यमहरुलाई विशेष भुमिका निर्वाह गर्न आग्रह गरे ।

उनले भने, ‘यो विषय आफैँमा गम्भिर छ । असुरक्षित गर्भपतनका कारण कतिपय युवती तथा महिलाहरुको ज्यानै समेत जाने गरेको छ । तसर्थ यस्ता अवैधानिक कार्य रोक्न ठोस नीति ल्याइनुपर्छ ।’

वीरगञ्ज महानगरको बगही स्वास्थ्य केन्द्रबाट मात्र सुरक्षित गर्भपतन सेवा प्रदान गरिने बताउँदै मेयर सिंहले इच्छा विपरित गर्भ रहन गए त्यहाँ गएर सेवा लिन सक्ने प्रस्टाए । बजारमा छ्याप्छ्याप्ती गर्भपतनका औषधीहरु बिक्री हुने गरेको बताउँदै उनले यसलाई रोक्न महानगर स्वयम् पनि असक्षम भएको स्विकार गरे । तसर्थ यस्ता गतिविधिलाई नियन्त्रणमा लिन महानगरलाई झक्झक्याउन प्रमुख सिंहले आग्रह गरे ।

वीरगञ्जस्थित नारायणी अस्पतालकी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. मन्जु रायले औषधी सेवनमा लापरबाही गर्दा समेत गर्भपतनको समस्या निम्तिने गरेको बताइन् । हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पताल तथा सीमित स्वास्थ्य केन्द्रहरुमा गर्भपतनका सेवाहरु उपलब्ध रहेको तर एक तिहाइभन्दा कम स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गरेको तथ्यांक उनले देखाइएकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी मिरा यादवले पर्सा जिल्लामा विगतको तुलनामा सुरक्षित गर्भपतन गराउनेहरुको सङख्यामा वृद्धि भएको प्रस्ट्याइन् । यसैगरी कार्यक्रममा वीरगञ्ज महानगरपालिका अन्र्तगत जनस्वास्थ्य शाखाकी इन्दिरा लोहनी, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत आरती ठाकुर, मेरी स्टोप्सका कुमार आचार्य लगायतले गर्भपतनको अवस्था, चुनौती तथा जटिलताबारे प्रकाश पारेका थिए ।

स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुप्रिया साहले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै