काठमाण्डौँ । यहि २४ गते पाटनबाट अपहरणमा परेका नाबालकलाई अपहरणकारीले भारत लैजाने तयारी गरेको खुलासा भएको छ । अपहरणमा परेका ४ वर्षीय नाबालक पल चेपाङलाई अपहरणकारीले भारत लैजाने तयारी गरेको अनुसन्धानबाट खुलेको हो ।
साँझ ८ बजेर २० मिनेटमा भियतनामी नागरिक माइ होङ्ग किन्हालनले उनलाई अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएका थिए । वीरगञ्ज हुँदै भारत लैजाने तयारी गरेको अवस्थामा बालकलाई गेस्ट हाउसबाट उद्धार गरिएको छ ।
आरोपीले माघ २५ मा बिहान साढे १० बजे काठमाडौँबाट वीरगञ्ज जाने ६८९८ नम्बरको टिकट काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कलंकीको मकालु पेट्रोल पम्प नजिकैको गेस्ट हाउसको १०७ नम्बर कोठामा बालकलाई बन्धक बनाएर माइ होङ्ग किन्हालनले भारत लैजान खोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बालकलाई पञ्जाब लैजाने र त्यहाँ बिक्री गर्ने योजना बनाएर भियतनामी नागरिकले बालकको आधारकार्ड समेत बनाउन लगाएका थिए । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधारकार्डको फोटो समेत प्रहरीले भेला पारेको छ ।