ट्रेन्डिङ

सर्लाहीको बरथहवामा भएको घटनाबारे संसदमा आवाज, गृहमन्त्रीको जवाफ माग

काठमाण्डौँ । सर्लाहीको बरथहवामा अन्तरजातीय विवाह गर्ने जोडिमाथि भएको भनिएको बर्बरताबारे संसदमा आवाज उठेको छ ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा उक्त घटनाबारे सांसदहरुले गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेका हुन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री लेखकले सत्य तत्य जानकारी दिन माग गरिन् ।

उनले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् ।

उनले गृहमन्त्री लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।  

त्यस्तै अर्का सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । उनले नव विवाहित जोडी माथिको व्यवहार प्रहरी र अदालतको समेत कमजोरी देखिएको बताइन् ।

अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे । उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको भन्दै सत्येन्द्र जोडीको घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरे ।

सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेम विवाह गरेकै कारण ज्यादती गरिएको समाचार प्रकाशित भएको थियो ।

गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा  विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ ।

उनीहरूलाई  प्रहरीले भारत पुगेर पक्राउ गरी शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको बताइएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै