ट्रेन्डिङ

अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट ११ सय बढी घर जले नष्ट, ५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।

डढेलो लागेको क्षेत्रको भ्रमण गरेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले भनेका छन्, ‘खतराबाट कोही पनि सुरक्षित छैनन् ।’ उनले सो लसएन्जलस क्षेत्रमा आपत्काल घोषणा गरेका छन् ।

उनका अनुसार अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने उनले चेतावनी दिएका छन् ।

डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।

जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।

वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरुको भनाइ छ । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक बनाएको बताइएको छ । झण्डै १६ हजार एकड क्षेत्रमा डढेलोले क्षति पुर्‍याइसकेको छ ।

डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि कतिपय स्थानमा बाटो खुलाउन डोजर प्रयोग गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्दै आएका दिग्गज अभिनेताहरु युजिन लेवी, जेम्स उड्स, जेमी ली कर्टिस, मार्क हमिल, म्याण्डी मुर लगायतले आफ्ना घर छाडिसकेका छन्

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै