वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली पर्सा आइपुगेका छन् । नेकपा एमाले पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी जिल्लाको सखुवाप्रसौनी गाउँपालिका आइपुगेका हुन् ।
गाउँपालिकाको औराहा पचगाँवामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज यहाँ आएका एमाले पार्टी पर्साले जनाएको छ ।
अपरान्ह साढे १ बजे निजी हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा ल्याण्ड भइसकेका छन् । गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन ओली आउन लागेको एमाले पार्टी पर्साले जानकारी दिएको छ ।
यही कार्यक्रममा भीड बढाउनका लागि पेट्रोलको ‘कुपन’ बाडिँएको रहस्य बाहिरिएको छ । कार्यक्रमलाई भव्य बनाउन तथा सर्वसाधारणको उपस्थिति व्यापक देखाउन गाउँगाउँमा तेलको कुपन बाँडिएको कार्यक्रममा सहभागी एमालेका एक जना कार्यकर्ताले बताए । उनका अनुसार जिल्लाका हरेक पालिकामा २–२ लिटरको तेलको कुपन बाँडिएको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ । आजको कार्यक्रममा ५ हजार कार्यकर्ताले पार्टी प्रवेश गर्ने दाबी एमाले पर्साको छ ।
तर प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आफूहरूले कुनै किसिमको तेलको कुपन नबाँडेको बताए । उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन् । मन्त्री जैसवालका भाइलाई एमालेमा प्रवेश गराउन प्रधानमन्त्री ओली पर्सा आउन लागेका हुन् ।