महोत्तरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् । महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
डा. कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको आरोप लगाएका हुन् । हरेक दुईदुई महिनामा सरकार परिवर्तन हुने अवस्था देखिएपछि बाध्य भएर कांग्रेस–एमाले एक भएको उनले बताए ।
उनका अनुसार राजनीतिलाई स्थायित्व प्रदान गर्न एमालेसँग सहकार्य गरिएको हो । उनी भन्छन्, ‘स्थायित्वका लागि संविधानमा केही सुधार गर्नुपर्छ भन्ने लागेर एमालेसँग मिलेर सरकार बनाएका छौं । त्यो सरकार अहिले चल्दैछ, तर अपेक्षा गरेअनुसारको काम हुन सकेको छैन । अब ढिलो नगरी संविधानको सुधारको अन्य दलसँग सहकार्य गरेर अगाडि जान आग्रह गर्छु ।’
नेता कोइरालाले भ्रष्टाचार बढिरहेको भन्दै सरकारले सुशासन दिन नसकेको जिकिर गरे । उनले सरकारमा भएका मन्त्रीहरुले सहकार्य गरेर अगाडि बढे पनि बाहिर भएकाहरुले प्रतिस्पर्धीको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले १५ औं महाधिवेशन एक वर्षभित्र नहुने संकेत देखिएको भन्दै नेतृत्वलाई दबाब दिन नेता कार्यकर्तालाई आग्रह गरे ।