वीरगन्ज । पर्सा प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षका राजाराम महतो कोईरी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी छपकैया र सशस्त्र प्रहरी बल नेपाल १३ गण हेडक्वाटर चिनीमिल पर्साबाट खटिएको संयुुक्त टोलीले लागु औषध बरामद गरेको हो । प्रहरीले वीरगन्ज–३ प्रगतिनगर टोलमा लागू औषध खरिद बिक्री तथा अनाधिकृत रुपमा भण्डारण भइरहेको सूचना पाएको थियो ।
सोही सूचनालाई पछ्याउँदै जाँदा कोइरीले सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरमा छापामारी गरी भारी परिमाण लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले पुष्टि गरे ।
प्रहरीले ५ कार्टुनभित्र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजीको प्रति प्याकेट तीनसयका दरले पाँच सय प्याकेट र खुल्ला १८६ पत्तामा एक हजार ८६० पिस ट्याब्लेट बरामद गरेको उनले बताए ।
बरामद लागू औषधको मूल्यांकन एक लाख ५१ हजार ८६० रुपैँया कायम गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।