जनकपुर । मधेश सरकारका मुख्यमन्त्री सतिश सिंहले स्वास्थ्य बिमाको कभरेज बढाउन निर्देशन दिएका छन् ।
प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन तथा बिमितहरूको सेवासुविधा प्रवाहमा प्रभावकारिता ल्याउन निर्देशन दिएका हुन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई मुख्यमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सँख्या कम रहेको भन्दै उनले भने, ‘त्यसमा वृद्धि गर्न बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्य तत्परतापूर्वक बढाउन म तपाईहरुलाई निर्देशन दिन्छु ।’
मुख्यमन्त्री सिंहले बिमावापतको रकम अस्पतालले नपाउने, बिमितको शल्यक्रिया लगायत उपचार कार्यमा अस्पतालले ढिलाइ गरिदिने, इच्छाएका बेला बिमा दर्ता नहुने र निश्चित समयावधिभित्र बिमा सक्रिय नहुने लगायत समस्याका बारेमा छलफल गरी समाधान गर्न सुझाएका छन् ।
उनले प्रदेशका बढीभन्दा बढी अस्पतालमा बिमामार्फत् प्राप्त हुने स्वास्थ्यसेवा विस्तार गर्नुपर्ने भन्दै प्रत्येक अस्पतालमा स्वास्थ्य बिमा डेस्क राख्नुपर्ने उल्लेख गरे । उनले स्वास्थ्य बिमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए ।
मुख्यमन्त्री सिँहले प्रदेशका कर्मचारी तथा तिनका परिवारलाई स्वास्थ्य बिमाको परिधिमा अनिवार्य ल्याउनुपर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । यसअघि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आफ्ना कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आबद्धताको निर्णय गरेको थियो ।
मुख्यमन्त्रीसँगको बैठकमा स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह, मन्त्रालयका निमित्त प्रदेश सचिव राजेशकुमार मिश्र, अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा.वर्षा प्रकाश, अस्पताल नर्सिङ्ग प्रशासक सुनिता गुप्ता, जनस्वास्थ्य अधिकृत विजयकुमार यादवलगायत सहभागी थिए ।