महोत्तरी । प्रेमीकाको हत्या आरोपमा एक जना प्रेमी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चक्रघाटा गाउँपालिका वडा नम्बर ९ कोरिया निवासी मन्दिप कुमार यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा उनलाई घटनाको दुइ महिनापछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत असोज २३ गते महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलमा एक जना महिलाको शव फेला पर्यो।
तत्काल महिलाको पहिचान नखुलेपनि अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनाको पाँच दिन पछाडी हत्या भएकी महिला सर्लाहीकी अनु राय रहेको पत्ता लगायो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार प्रहरी टोलीले तालिमप्राप्त कुकुरको सहयोगबाट घटनास्थलको चेकजाँचसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतहरुमा फोटोसहितको विवरण समेत राखिएको थियो ।
सोही बमोजिम अनुका अभिभावकहरुले शवको सनाखत गरेका डिएसपी जैसवारको भनाइ छ ।
के थियो घटना ?
असोज २२ अनुले अभिभावकहरुलाई सन्दिप नाम गरेका साथीलाई भेट्न वीरगन्ज जान लागेको जानकारी गराइन् । तर त्यसपछि उनी अस्ताइन् ।
मन्दिप र अनु कक्षा चारदेखि नै चिनजानमा रहेका तथा उनीहरुबिच प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुबीच विवाहलाई लिएर विवाद हुँदै आएपनि बर्दिबासमा भेटकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेकी थिइन् । मन्दिपले पनि अनुलाई थप्पड हान्दा उनी वेहोस भएको भइन् ।
त्यसपछि मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीले उनको घाँटी कसेर हत्या गरेर भागेको प्रहरीले जनायो ।
ख्याल ख्यालमै प्रेमिले प्रेमिकालाई डोरीले घाँटी कसेर हत्या गरी बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट खुलेको डिएसपी जैसवारले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्विकार गरिसकेका छन् ।
प्क्राउ परेकामाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।