वीरगन्ज । लुटपाट तथा संगठित अपराध मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले घाइते अवस्थामा पक्राउ गरेको जनाएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १७ माडरस्थित नेपाल भारतको दसगजा क्षेत्र नजिक हात खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थाबाट उनलाई नियन्त्रणमा लिएको डिएसपी बिरेन्द्र कुमार पासवानले बताए ।
पक्राउ परेका आरिफलाई प्रादेशिक अस्पतालमा सिरहामा उपचारपछि जिल्ला प्रहरी कार्यालय सिरहामा सोधपुछपश्चात आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले जानकारी दिए ।
के–के हुन मुद्दा ?
२०८० साल ज्येष्ठ १६ गते महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको एनएनबी बैँकमा लुटपाट भयो । अज्ञात रुपमा नकाब लगाएर त्यहाँ पुगेका ४÷५ जनाको समूहले कर्मचारी तथा सेवाग्राहीसमेतलाई पेस्तोल देखाएर पैसा तथा मोबाइल लुटे ।
बैँकबाट त्यो बेला ३८ लाख तथा कर्मचारीहरुको मोबाइल लुटिएको डिएसपी पासवानले बताए । प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि सोही बैँकका प्रबन्धक मलिका ठाकुरले दिएको जाहेरीको आधारमा प्रहरीले आरिफलाई डाँका मुद्दामा फरारको सूचीमा राखेको थियो ।
यसैगरी सिरहाको ग्लोबल आइएमई बैँक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल ४३ वर्षका उपेन्द्र साहको समेत आरिफले ९ लाख रुपैँया लुटेको प्रहरीका जाहेरी छ ।
०७९ साल फागुन १० गते मिर्चैया–६ मा रहेको ग्लोबल आइएमई बैँकबाट उपेन्द्रले ९ लाख पैसा निकालेर घरतर्फ निस्के । त्यहि क्रममा मिर्चैयाकै बताहा पुलस्थित ज ६ प ८१८५ नम्बरको मोटरसाइकल चालक प्रहरी जवान नितेश खवास र पछाडी सवार उपेन्द्रमाथि अज्ञात समुहले हमला भयो ।
दुइटा मोटरसाइकलमा पुगेका चार जनाको समुहले उनीहरुलाई कुटपिट गर्दै सबै रकम चोरेर भागेका थिए । सोही घटनामा समेत आरिफको संलग्नता रहेको भन्दै उपेन्द्रले जाहेरी दिएको प्रहरीको दाबी छ ।
यस्तै आरिफमाथि भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको तथा उनलाई पक्राउ गर्नेलाई २५ हजार रुपैँया पुरस्कार घोषणा गरेको समेत रहेको प्रहरीले जानकारी दिएको छ ।