बारा । बाराको गढीमाई मेलामा लागेको कृषि प्रदर्शनी मेलाको समापन गरिएको छ ।
महागढी नगरपालिकाका मेयर उपेन्द्र यादवले कृषि प्रदर्शनी मेलाको समापन गरेका हुन् ।
यहि १८ गतेदेखि चलेको प्रदर्शनीमा झण्डै एक लाख जनाले अवलोकन गरेका जनाइएको छ ।
उक्त प्रदर्शनीमा हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत गरी १० करोड मूल्य बराबरका कृषि उपकरणहरु बुकिङ भएका आयोजकले जनाएको छ ।
पालिकाहरूले आ–आफ्नो क्षेत्रमा हुने स्थानीय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवा प्रवर्द्धनका लागि प्रदर्शनीमा स्टलहरू राखेका थिए ।
साथै सातै प्रदेशका सात फरक परिकार, कृषिमा आधुनिक प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, विभिन्न कम्पनीका कृषि उपकरणहरू प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँग किसानले प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका थिए भने रोबोटसँगको कुराकानी पनि विशेष आकर्षण बनेको थियो । प्रदर्शनीमा कृषि सम्बन्धी विभिन्न १०० वटा स्टलहरु राखिएका थिए ।
कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए ।