रौतहट । रौतहटको चन्द्रपुरमा भएको स्कर्पियो दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक निदाउँदा उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए ।
चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा गएराति स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाएका आठै जनाको सनाखत भइसकेको प्रहरीको भनाइ छ ।
बाराको गढीमाई मन्दिरको दर्शन गरेर सिराहातर्फ फर्कँदै गरेका दर्शनार्थी सवार बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कर्पियो चालक सिराहाको अर्नामा गाउँपालिका– ३ निवासी श्रीकुमार यादवसहित यात्रुहरू लरुवती देवी महरा, उर्मिला महरा, रामकुमारी महरा, महगीं देवी महरा, फुलमन्ति देवी महरा, रामकुमारी देवी महरा, शकुन्तला देवीले ज्यान गुमाएका छन् ।
यसैगरी घाइते हुनेहरूमा सोही ठाउँका राधा महरा, आर्यन महरा, देव कुमारी महरा, ऋतिक महरा, र कन्या देवी महरा रहेका छन् ।
घाइतेहरूमध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा एक जनालाई भने थप उपचारका बीरगन्जको बयोधा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।