बारा । बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलामा झण्डै दुइ करोडले अवलोकन गरेका छन् । मेलाको २४ औँ दिन अर्थात् आज मंसिर २४ गतेसम्म झण्डै दुइ करोडले मेलाको अवलोकन गरेका हन् ।
दोस्रो दिन आज बोका बलिको पनि लाखौँ भक्तजनहरुले मेलामा घुमफिर गरेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनाएको छ । विशेषत् शनिबार अर्थात् मंसिर २२ गतेदेखि मन्दिर तथा मेलामा आउने दर्शनार्थीहरुको भीड बढेको जनाइएको छ ।
समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवका अनुसार गढीमाई मन्दिर तथा मेलामा घुमफिर गर्न आउनेहरुको भीड बढ्दो छ । बलिकै रुपमा प्रसिद्ध गढीमाई माताको दर्शन गर्न आइतबार र सोमबार मात्र करोडौँ सङख्यामा भक्तजनहरु देश तथा बिदेशबाट भित्रिएका उनले बताए ।
यद्यपी शनिवार र आईतबारको तुलनामा गढीमाई मेलामा सोमबार (आज) दर्शनार्थीहरुको चाँप अचाकली बढेको नगरप्रमुख यादव बताउँछन् । एक महिनासम्म चल्ने यो मेलामा ३ करोडको हाराहारीमा देश तथा बिदेशीबाट आएका नागरिकहरुले अवलोकन गर्ने अनुमान उनले गरेका छन् ।

माताको दर्शन गर्न नेपाल र भारतबाट मात्र नभई अमेरिका, फ्रान्स लगायतबाट समेत दर्शनार्थीहरु आइपुगेका छन् । हरेक पाँच वर्षमा मात्र यो मेला लाग्ने भएकाले श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य उपस्थिति हुने गर्दछ ।
गढीमाई मातासँग मागेको भाकल पुरा हुने धार्मिक विश्वास छ । पुत्र लाभ, जटिल रोग निको हुने, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई माता भाकल गर्छन् । भाकल पूरा भएबापत परेवा उडाउने, बोका तथा राँगाको बली चढाउने भनि भाकल माग्ने गर्दछन् ।

तसर्थ भाकल पूरा भएपछि दर्शनार्थीहरु एकै पटक गढीमाई मेलामा आउने गरेको कारण विशेषत् बलिको दुइ दिन अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको जनाइन्छ ।
भीडले अस्तव्यस्त
गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दर्शनार्थीको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म र हरनहियादेखि बरियारपुरसम्म नै अत्यधिक भीडभाड तथा घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

बलिको दुई दिन दर्शनार्थीहरुको भीड अत्यधिक रहने तथा त्यसपछि भने नियन्त्रणमा आउँदै जाने ट्राफिक प्रहरी बताउँछ । त्यसको बाबजुत पनि भीड व्यवस्थापन गर्न कुनै कसर बाँकी नराखेको ट्राफिक प्रहरीले जनाएको छ ।
कति बलि ?
गढीमाई मेलामा मंसिर २३ गते अर्थात् हिजो आइतबार राँगा बलि दिइएको थियो । यो दिनलाई बलिको पहिलो दिन पनि भनिन्छ ।
विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार विशेष पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिने क्रम सुरु भएको हो । पहिलो दिन ८ हजार भन्दा बढी राँगा बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपसमितिले जानकारी दिएको छ ।
उपसमितिका संयोजक प्रेम साहका अनुसार हिजो बिहानैदेखि दिउँसोसम्म गरी ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको हो । यद्यपी यो गत वर्षको तुलनमा कम भएको बताइन्छ ।

भारतबाट आउने राँगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको समितिको अनुमान छ ।
त्यस्तै बलिको दोस्रो दिन आज बोका बलि दिइएको छ । यद्यपी बोका बलि कति चढाइयो भन्नेबारे यथार्थ विवरण आउन सकेको छैन ।
बोका बलि दिने भक्तजनहरुले आफुलाई पाएक परेको ठाउँमा दिन सक्ने भएकोले त्यसको तथ्यांक आउन नसकेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । तर राँगा भन्दा दोब्बरको सङख्याले बोकोको बलि दिइएको अनुमान उपसमितिले गरेको छ ।
राँगाको मासु दलित समुदायलाई
गढीमाई मेलामा आईतवार चढाईएको राँगाको मासु दलित समुदायहरुले लगेका जनाइन्छ । त्यहाँ चढाइएको राँगाको मासु उनीहरुले प्रसादको रुपमा लगेको बलि ब्यवस्थापन उपसमितिका संयोजक साहको भनाइ छ ।
‘दलित समुदाय तथा राँगाको मासु खानेहरुले गरेको अनुरोध बमोजिम यो वर्ष मेलामा चढाइएको राँगाको मासुको लागि कुनै टेण्डर बोलाइएन, तर केही मेला बिरोधीहरुले मासुको लागि टेण्डर भएको हल्ला समेत फैलाउन भ्याए,’ उनले भने ।
दुर्गन्धित नहुने गरि राँगाको ब्यवस्थापन
गढीमाई मेलामा आफ्नो भाकल पूरा भएपछि दर्शनार्थीहरुले चढाएको राँगाको बलिबाट स्थानियहरुको स्वास्थमा असर नपर्ने गरि ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।
आईतवार चढाईएको राँगाबाट दुर्गन्ध नआउने गरि बलि ब्यवस्थापन उपसमितिले ब्यवस्थापन गरिरहेको संयोजक साह बताउँछन् । राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरुको आन्द्रा, भुडी तथा टाउकोको ब्यवस्थापन गर्ने काम भइरहेको उनले जनाए ।
खाल्डो खनेर टाउको आन्द्रा, भुडीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिको सहयोगबाट खाल्डोलाई पुरिरहेको बताइएको छ ।

