रौतहट । रौतहटमा रासायनिक मलको कालोबजारी सुरु भएको छ ।
गहुँको बीउ छर्न मलखाद्यको आवश्यकता परेको बेला अहिले जिल्लाको ग्रामीण क्षेत्रका बजारहरूमा युरिया र डीएपी मलको कालोबजारी बढेको हो । माधवनारायण, गढीमाई लगायतका अधिकांश पालिकाहरूमा तोकिएको भन्दा बढी मूल्यमा रासायनिक मल बिक्री भइरहेको गुनासो छ।
किसानले बढी मूल्य तिरेर मल खरिद गर्दा मर्कामा परेको गुनासो गरेका छन् । ग्रामीण बजारका केही व्यापारीले एक हजार रुपैयाँ पर्ने युरिया मल १२ सय देखि १४ सय सम्ममा बिक्री गरिरहेको उनीहरुको गुनासो छ ।
त्यस्तै २ हजार ५ सय पर्ने डीएपी ३ हजार ४ सयदेखि ३ हजार ५ सय सममा बिक्री भइरहेको माधवनारायण नगरपालिकाका एक जना किसानले गुनासो गरे ।
स्थानीय किसान किसुन राय यादवका अनुसार मागअनुसार युरिया र डीएप मल उपलब्ध भएको छैन । तर कतिपय व्यापारीले लुकिछिपी कालोबजारी गरिरहेकाले समस्या भएको उनले बताए ।
हाल रासायनिक मलखादको अवस्थाबारे नियमनकारी निकाय वा जिल्ला प्रशासन कार्यालय रौतहटले बजार अनुगमन गरी कालोबजारी गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने किसानहरूले माग गरेका छन्।
हाल गहुँ खेती गर्ने मुख्य सिजनमा पनि स्थानीय निकायले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन चासो नलिएको किसानहरूले गुनासो गरेका छन्। स्थानीय सरकारबाट कैयौँ सङ्घ संस्थाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन अनुदानमा लिएका छन्। तर अनुदानको मल किसानलाई नदिई बिचौलिया सँग बिक्री गर्ने गरेको कटहरिया १ का किसान रामबहादुर यादवको गुनासो रहेको छ।
सरकारबाट विभिन्न कृषि सहकारी सङ्घ संस्थाले अनुदानमा पाएका मलखाद्य किसानलाई नदिई बढी मूल्यमा व्यापारीसँग बेच्ने गरेको उनको दाबी रहेको छ। व्यापारीहरूले चर्को मूल्यमा किसानलाई मलखाद्य बेच्ने गरेका कारण किसानहरू निकै मारमा परेका छन्।
रौतहटका सीडीयो हिरालाल रेग्मीले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी बारे छानबिन गर्ने र गलत गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।