बीरगन्ज । बीरगन्ज भन्सार कार्यालयले झण्डै ५० अर्ब रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा उक्त रकम संकलन गरेको हो ।
चालु आवको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैँया संकलन गरेको कार्यालयले जनाएको छ । यो भन्सार कार्यालयले पाएको लक्ष्य भन्दा कम हो ।
भन्सार विभागले यस कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले धेरै सार्वजनिक बिदा पर्दा लक्ष्य पूरा गर्न कठिनाई भएको बताए । उनका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो ।
यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ ।
कार्यालयले गत साउनमा १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो ।
गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ सङ्कलन भएको थियो ।