ट्रेन्डिङ

विवाहपञ्चमी महोत्सव : आज स्वयम्बर तथा बैवाहिक कार्यक्रम

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी जानकीबिच भएको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव यसवर्ष पनि भव्य रुपले मनाइँदैछ ।

महोत्सवको पाँचौँ दिन बिहिबार मटकोर (वेदीका लागि माटो खन्ने) विधि सम्पन्न भएको छ । यसैगरी शुक्रबार दिउँसो मैथिली परम्परा अनुसार स्वयम्बर र राति वैवाहिक कार्यक्रम हुने बताइएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दासको नेतृत्वमा साधु सन्तसहितको सहभागितामा बाजागाजासहितको लस्कर जनकपुरधामको पवित्र गङ्गासागर पोखरीमा पुगेर मटकोरको विधि सम्पन्न गरेको हो ।

सो अवसरमा महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए । जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन गङ्गासागरको डिलमा पुगेका थिए ।

वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीको समेत जानकी माताको मटकोर कार्यक्रममा सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा जनकपुरधामको गङ्गासागरबाट लगिने माटोले वेदी निर्माण गरिने र सोही वेदीमा शुक्रबार वैवाहिक कार्यक्रम हुने बताइएको छ ।

सात दिवसीय कार्यक्रममा जगत् जननी जानकीका पिता राजा जनकको भूमिका जानकी मन्दिरका महन्त राम तपेश्वर दासले निर्वाह गरिरहनुभएको छ भने मर्यादा पुरुषोत्तम भगवान् रामका पिता दशरथको भूमिका राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले निर्वाह गरिरहेका छन् ।

विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरसहित जनकपुरधामका विभिन्न मन्दिरमा पूजाअर्चना गर्न आएका श्रद्धालु भक्तजनको भिड नै लागेको छ । शुक्रबार वैवाहिक कार्यक्रम हुने भएकाले भिडभाड अझै बढ्ने भन्दै स्थानीय प्रशासनले बिहीबारदेखि नै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै