ट्रेन्डिङ

मंसिर २१ गते दीपावली मनाउन मधेस सरकारको अपिल

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले मंसिर २१ दिपावली मनाउन अपिल गरेका छन् ।

विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र साँस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न त्यो दिन हरेक घरमा दीपावली मनाउन उनले अपिल गरेका हुन् ।

बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन ११ वा २१ वटा दीप जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका छन् ।

जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रमहरूमा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुभक्तजनहरूलाई आफ्नै घरमा भए पनि वासको व्यवस्था गर्न समेत उनको अनुरोध छ ।

सन्देशमार्फत उनले भनेका छन्, ‘घरपरिवारका सदस्यले उपयोग गर्ने बाहेकका अतिरिक्त कोठामा बाहिरबाट आएका श्रद्धालुहरूलाई बासको व्यवस्था गरिदिन
जनकपुरवासीलाई म अनुरोध गर्दछु ।’

मुख्यमन्त्री सिंहले बाहिरबाट आएका श्रद्धालुभक्तजनलाई होटल तथा धर्मशाला आदिमा वास व्यवस्थापन नभए सहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाएका छन् ।

उनले प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेसन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा बनाईएका अस्थायी आवासमा आवश्यक भएकाहरूलाई बस्न सुझाएका हुन् ।

हिँड्डुल गर्न नसक्ने र श्वासप्रश्वासजस्ता रोगका समस्या भएकाहरूलाई मेला भर्न यस वर्ष पालो पर्खन भन्दै विवहोत्सवमा सहभागी हुन आउने श्रद्धालुभक्तजन तथा साधुसन्तलाई न्यानो लुगा, सुत्न ओढ्ने कम्बल तन्ना आदि ल्याउन समेत आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै