धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले माछा, मासु तथा मदिरा बिक्री वितरण गर्न निषेध गरेको छ । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निषेध गरेको हो ।
प्रशासनले एक सूचना जारी गर्दै नगरक्षेत्र अन्र्तगत आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको जनाएको छ । प्रशासनले आजदेखि तीन दिन अर्थात् मंसिर २२ गतेसम्म मासु, माछा तथा मदिरा बिक्री कार्य बन्द गर्न आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न–नगराउन आदेश जारी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्री वितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न–नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’

प्रशासनले सूचनाको अवज्ञा गरे वा निषेधित क्षेत्रमा त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।