ट्रेन्डिङ

उपनिर्वाचन : मधेस प्रदेशमा ५७ प्रतिशत मतदान

शान्त रुपले मतदान जारी

बीरगन्ज । स्थानीय तहका विभिन्न पदका लागि आज भइरहेको उपनिर्वाचनमा मधेस प्रदेशमा ५७ प्रतिशन मत खसेको छ । मधेस प्रहरी निर्वाचन सेलका अनुसार प्रदेशका चार जिल्लामा भइरहेका उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ५७ प्रतिशत मतदान भएको हो ।

प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौटहट गरी चार जिल्लाबाट ७ स्थानमा उपनिर्वाचन हुँदैछ । त्यहाँ ७ वटा वडाअध्यक्ष पदका लागि विभिन्न पार्टीका ९६ जना उम्मेदवार मैदानमा छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर वडा नम्बर– २ मतदान भइरहेको छ ।

यसैगरी रौतहटको ईशनाथ–७, राजपुर–६ र गढीमाइ–८ मा उपनिर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्ता सुवाष चन्द्र बोहराका अनुसार यी चार पालिकामा १७ हजार ३ सय १३ मतदाता छन् ।

प्रदेशमा रिक्त ७ वटा वडाअध्यक्ष पदका लागि १०३ जनाले मनोनयनपत्र दर्ता गराएका थिए । तर ७ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी, जनमत, जसपा नेपाल, जसपा, एकीकृत समाजवादीसहितका दलहरु चुनावी मैदानमा छन् ।

यसैबिच जारी उपनिर्वाचनका लागि मतदानस्थलहरुका व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ । उपनिर्वाचनलाई शान्त रुपले सम्पन्न बनाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता बोहरा बताउँछन् ।

उनका अनुसार उपनिर्वाचनका लागि १२ मतदानस्थल तोकिएका छन् । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको उनको भनाइ छ ।

जारी मतदान शान्त रुपले भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयको निर्वाचन सेलले जानकारी दिएको छ ।

मतदान अपरान्ह ५ बजेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै