बीरगन्ज । सशस्त्र प्रहरी बल बाराले आत्महत्याको प्रयास गर्ने एक जना भारतीय नागरिकको उद्दार गरेको छ । सशस्त्र प्रहरीले गएराती कलैया उपमहानगरपालिका वडा नम्बर १३ बाट एक जनाको उद्दार गरेको हो ।
भारतीय नागरिक ३५ वर्षका धिरेन्द्र चौधरीको उद्दार गरेको सशस्त्र प्रहरी बल बाराका प्रमुख सन्तोष बहादुर सिंहले बताए । उनका अनुसार पानी ट्याङकीमा पासो लगाएर आत्महत्या प्रयास गर्ने उनको सकुशल उद्दार गरेको हो ।
पानी ट्याङकीमा डोरीले पासो लगाएर एक जना कामदारले आत्महत्याको प्रयास गरेको सूचना प्रहरीलाई गएको थियो । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराइको कमान्डमा खटिएको टोलिले उनको उद्दार गरेका जनाइएको छ ।
‘रोप रेस्क्यू’ को माध्यमबाट सशस्त्र प्रहरीले चौधरीको उद्दार गरेको सशस्त्र प्रहरी प्रमुख सिंहले बताए ।
चौधरीलाई बेहोस अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको कारणबारे नखुलेको बताउँदै उनले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।