मकवानपुर । मकवानपुरमा मोबिल लोड रहेको कन्टेनर दुर्घटनामा परेको छ । बिहिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईमा दुर्घटना भएको हो ।
बीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र २–०३–००१ ख ६७३८ नम्बरको कन्टेनर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने ३० वर्षका महोश मोक्तान घाइते भएका मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनको दाहिने हातमा चोट लागेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
यसैबिच कन्टेनर पल्टिँदा अवरुद्ध राजमार्ग पूर्णरुपमा सूचारु भएको छ । नेपाल प्रहरी तथा क्रेनको सहायताले उक्त सडक दुुई घण्टापछि खुलाइएको डिएसपी अर्यालले बताए ।
उनका अनुसार मोबिल बोकेको कन्टेनर पल्टिदाँ बाटो वारपार पूरै ढाकेको थियो, जसकारण पूर्वपश्चिम राजमार्ग दुवैतर्फ ठप्प भयो ।

बाटो अवरुद्ध बन्दा गन्तव्यका लागि छुटेका साना तथा ठूला सवारी साधनहरुसमेत घण्टौँ रोकिएका थिए ।