सिरहा । खाल्डोमा डुबेर सिरहामा एक जना नाबालकको मृत्यु भएको छ । चापाकलबाट निस्केको पानी जम्ने खाल्डोमा डुबेर एक जना नाबालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कर्जन्हा नगरपालिका वडा नम्बर ६ मिर्चैया धनगढ्हाटोलका डेढ वर्षीय रितिक रहेका छन् ।
रितिकका बुबाले ठुली छोरीलाई विद्यालय पुर्याउन गएको बेला खेल्दै बाहिर निस्केका ऋतिक पानी जम्ने खाल्डोमा डुबेको हुनसक्ने अनुमान गरिएको छ ।
खाल्डोमा बच्चाको खुट्टा मात्र देखेपछि छिमेकीले चिच्याउँदै गाउँलेलाई खबर गरेका थिए। खाल्डोबाट तत्काल उद्दार गरि अचेत अवस्थामा नजिकैको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेका जनाइएको छ ।
बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहा लगिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनायो ।