बीरगन्ज । पर्सा जिल्लामा हुने सवारी दुर्घटनाको ग्राफ पछिल्लो समय बढ्दो रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षको चार महिनामै जिल्लामा सयौँ सवारी दुर्घटनामा परेका छन् ।
कार्यालयका अनुसार यो वर्षको साउनदेखि कात्तिकसम्म ३६० वटा सवारी दुर्घटनामा परेका हुन् । ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाइसकेका प्रहरीको रेकर्ड छ । यस्तै १९ जना गम्भिर तथा ३८३ जना सामान्य घाइते भए ।
ज्यान गुमाउनेहरुमा १० जना पुरुष, एक महिला तथा एक जना बालिकासमेत रहेकी प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी पर्साका इन्स्पेक्टर लोकराज भट्टका अनुसार साउनमा ८६, भदौमा ९५, असोज ७३ तथा कात्तिकमा सबैभन्दा बढी अर्थात् १०६ वटा सवारी दुर्घटना भएका थिए ।
गत वर्ष सोही चार महिनाको अवधिमा भएका सवारी दुर्घटनाका कारण १४ जनाको मृत्यु भएको थियो ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना :
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अवधिमा प्राय सबैखाले सवारी दुर्घटनामा परेका छन् । तर सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको अभिलेख छ ।
अर्थात् दुर्घटनामा परेका सवारीहरुमा आधाभन्दा बढी मोटरसाइकल छन् । यो समयमा मात्र २४० वटा मोटरसाइकल दुर्घटना भएका इन्स्पेक्टर भट्ट बताउँछन् ।
उनका अनुसार साउन र भदौमा क्रमशः ५९÷५९, असोजमा ४९ तथा कात्तिकमा ७३ वटा मोटरसाइकल दुर्घटनामा परेका प्रहरीको आँकडा छ ।
यस्तै अन्य ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जिप, टेम्पो लगायतका सवारी पनि दुर्घटनामा परेका जनाइएको छ ।
किन दुर्घटना बढ्दो ?
सवारी चालकहरुले ट्राफिक नियमको पालना नगर्दा जिल्लामा दुर्घटनाको क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक इन्स्पेक्टर भट्टले खराब सडक अवस्थाका कारणसमेत दुर्घटनाको जोखिम रहेको उनले जनाए । उनका अनुसार कात्तिकमा चाडपर्वको समय रहेकाले पनि बढी सवारी दुर्घटना भएका छन् ।
‘चाडपर्वमा सवारी चालकहरुले आफ्नो मनोमानी गर्नु, मादक पदार्थ सेवन, अप्रशिक्षित व्यक्तिहरुका कारण मोरटसाइकल दुर्घटना बढ्दो छ,’ उनले भने ।
यद्यपी दुर्घटना न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनी सुनाउँछन् ।
सडक दुर्घटना न्यूनीकरणका लागि जिल्लाका फरकफरक स्थानहरुमा पर्चापम्लेट वितरण, जनचेतनामूलक अभियानहरु सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनायो ।