धनुषा । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थय क्षेत्रमा सुधार आउने गरी कार्य गर्न निर्देशन दिएका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको जनकपुरधाममा भएको तीन दिवसीय प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन शत्रलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रदेशमा स्वास्थ्य क्षेत्रको सूचकांकमा क्रमश सुधार आएको भए पनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै सुधार ल्याउने गरी कार्य गर्न स्वास्थ्यका कर्मचारीलाई मुुख्यमन्त्री सिंहले निर्देशन दिए ।
सरकारी अस्पताल, स्वास्थ्यचौकी र उपस्वास्थ्य चौकीको सेवाप्रति इमान्दार भएर काम गर्दा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो । तसर्थ जनताको विश्वास जित्ने गरी काम गर्न मुख्यमन्त्री सिंहले अनुरोध गरेका छन् ।
उनका अनुसार स्वास्थ्य बिमामा आम जनताको पहुँच बढाउनुपर्ने भन्दै त्यसका लागि ग्रमीण स्तरमा स्वास्थ्य बीमा गर्दा हुने फाइदाको बारेमा प्रचार प्रसार गर्नुपर्ने छ ।
नेपालमा गुणस्तरहीन र फेक मेडिसिनको बिगबिगी बढेको भन्दै औषधी अभाव भएको ठाउँमा गुणस्तरीय औषधी खरिद गरी तत्काल पुर्याउनका लागि निर्देशन दिए । यस्तै उनले नेपाल सरकारले निजी अस्पतालमा पनि १० प्रतिशत गरिब जनतालाई निःशुल्क उपचारका लागि शय्याको व्यवस्थापन गरेको भन्दै त्यसको पालना भएको नभएको बारेमा प्रभावकारी अनुगमन गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गरे ।