वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट भएको भन्ने खबरको खण्डन गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष यादवले पछिल्लो समय ओलीसँग कुनै भेटघाट नभएको स्पष्ट पारेका हुन् ।
उनले पुरानो तस्बिरलाई अहिलेको घटनासँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यादवले मधेस प्रदेश सरकार गठनका विषयमा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने सम्बन्धमा जसपा नेपालले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
उनका अनुसार यस विषयमा न कुनै नीति तय भएको छ, न त कुनै सहमति नै भएको छ ।
उनले सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सूचनाको पछि नलाग्न आग्रह गर्दै सत्यता पुष्टि नभएका सामग्रीलाई विश्वास नगर्न र त्यस्ता सामग्रीको प्रचार नगर्नसमेत अनुरोध गरेका छन् ।
अध्यक्ष यादवले जसपा नेपालले अहिलेसम्म सरकार गठनका लागि कुनै दाबी नगरेको, कुनै दलसँग समर्थन मागेको वा कुनै पार्टीलाई समर्थन दिने अथवा नदिने विषयमा सम्झौता नगरेको पनि उल्लेख गरेका छन् ।
मधेस प्रदेश सरकार गठन र सत्ता समीकरणबारे विभिन्न चर्चा भइरहेका बेला यादवको यो स्पष्टीकरण आएको हो ।
उनले पुरानो तस्बिरलाई आधार बनाएर ओलीसँग पछिल्लो समय भेटघाट भएको भन्ने सन्देश फैलाइएको भन्दै त्यसलाई भ्रामक रूपमा व्याख्या गरिएको बताएका छन् ।
