ट्रेन्डिङ

चाँडपर्व लक्षित मधेस प्रहरीको ‘मास्टर प्लान’ सार्वजनिक : ८ जिल्लामा १५११ संवेदनशील स्थल, ७२ सय प्रहरी खटिदैँ

सिमामा ‘सर्च, ड्रग तथा एक्सप्लोसिभ’ जाँच

वीरगन्ज । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चाडवाडलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी मधेस प्रहरीले स्पेशल सुरक्षा योजना तयार पारी लागू गरेको हो । शान्तिपूर्णरुपमा पर्व मनाउनका लागि प्रहरीले हिजोदेखि ८ वटै जिल्लामा स्पेशल सुरक्षा योजना लागू गरेको मधेस प्रहरीका प्रवक्ता प्रभु प्रसाद ढकालले बताए ।

चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि रोक्न, सडक दुर्घटना नियन्त्रण गर्न, धार्मिक तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सर्वसाधारणलाई सुरक्षित तथा भव्यरुपले चाडपर्व मनाउने वातावरण सिर्जना गर्ने हेतुले प्रदेशका आठवटै जिल्लामा सुरक्षा योजना लागू गरिएको हो ।

४१ दिनका लागि प्रहरीले स्पेशल सुरक्षा योजना रणनीति तयार पारिएको जनाएको छ । यही असोज १९ गतेदेखि कात्तिक ३० सम्मका लागि सुरक्षा योजना लागू भइसकेको प्रहरी भनाइ छ ।

कति प्रहरी परिचालन ?

भयरहित पर्व मनाउनका लागि प्रदेशका ८ वटै जिल्लामा व्यापक संख्यामा प्रहरी परिचालन गर्ने ‘मास्टर प्लान’ बनाइएको छ । आठवटै जिल्लामा हुने आपराधिक गतिविधिको विश्लेषण र ‘क्राइम पेटर्न’को हिसाबले १ हजार ५११ वटा स्थललाई संवेदनशीलरुपमा वर्गीकरण गरिएको छ ।

संवेदनशील क्षेत्र बढी देखिएपछि ८ वटै जिल्लामा ७ हजार २२९ जना सुरक्षा फौज खटाइएको प्रहरी प्रवक्ता ढकालले जनाए । हरेक जिल्लामा ९ सयको हाराहारीमा प्रहरी खटिने गरी सुरक्षा योजना बनाइएको हो ।

यसअन्तर्गत ९२ वटा स्थानमा क्यूआरटी टोली, १८ स्थानमा ‘स्ट्राइकिङ’ टोली, ८७ स्थानमा ट्राफिकसहितको चेकिङ टोली, ८६ स्थानमा मोबाइल गस्ती, १८० स्थानमा पैदल गस्ती र ३३९ पिकेट गस्ती खटाइएको प्रहरीको भनाइ छ ।

त्यसैगरी १८ वटा ‘कर्डन एन्ड सर्च’, सम्भावित सभा, जुलुस तथा भिड हुन सक्ने १६ एरिया तथा ३७ धार्मिक स्थलमा कडा सुरक्षा दिने रणनीति लिएको छ ।

प्रदेशका जिल्लाहरुमा हुन सक्ने प्राकृतिक विपत्का घटनामा व्यवस्थापनका लागि २२ वटा (विपत् प्रतिकार्य टोली) को व्यवस्था गरिएको छ भने राजमार्गमा प्रहरीसहितको ‘स्कर्टिङ’को व्यवस्था समेत मिलाइएको छ । जेनजी आन्दोलनपछिको अवस्था र क्राइम मूभमेन्ट फरक ढंगले बढीरहेको आँकलन गर्दै प्रहरीले पोर साल भन्दा यो वर्ष ७ सयको संख्यामा प्रहरी थपी सुरक्षा योजना कडा बनाएको दाबी छ ।

सिमामा ‘सर्च, ड्रग तथा एक्सप्लोसिभ’ जाँच

मधेसका सबै जिल्ला भारतीय सिमासँग जोडिएकाले प्रदेश प्रहरीले यसका लागि बेग्लै रणनीति बुनेको छ । सीमाबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले सादा पोशाकको प्रहरी र अन्य ड्यूटीसंगै स्पेशलरुपमा डग खटाएको छ । आवतजावतलाई मध्यनजर गर्दै प्रहरीले विशेष क्षमता भएका कुकुर परिचालित गर्ने रणनीति बुनेको हो ।

‘मधेस छिमेकी देश भारतसंग जोडिएको प्रदेश हो, जताततै सिमाहरु खुल्ला छन् । चाँडपर्वको बेलामा आपराधिक मनसाय भएका व्यक्तिहरु सहजै प्रवेश गरेर अशान्ति तथा लुटपाट गर्ने सम्भावना बढी हुन्छ । यस्ता आपराधिक गतिविधि हुन नदिनका लागि प्रदेशका ३ ‘हर्ट स्पट’ एरियामा कुकुरबाट कडा निगरानी गरिनेछ,’ प्रवक्ता ढकालले भने ।

उनका अनुसार खासगरी पर्सा, धनुषा र ढल्केवरमा कुकरको सहायताले जाँच सुरु गरिएको छ । यी ३ स्थानहरुमा दुई वटा कुकुरको सहायताले ‘सर्च, ड्रग तथा एक्सप्लोसिभ’ अपरेशन सञ्चालन गरिएको उनी बताउँछन् ।

ड्रोनबाट निगरानी

सुरक्षा योजनामा भिडभिँड हुने स्थानहरु– मठ, मन्दिर, मेला, बजार लगायतमा जनशक्तिसहित ‘ड्रोन’बाट विशेष सुरक्षा दिने व्यवस्था मिलाएको छ ।

भिडभाड हुने स्थानलाई नियालेर थप जनशक्ति परिचालन गर्ने रणनीति तयार पारेको मधेश प्रहरी बताउँछ । ‘आठ वटै जिल्लाहरुमा हुन सक्ने सम्भावित दुर्घटना, आपराधिक घटनाको आंकलन गरिएको छ । त्यसैले यहाँका ९ वटा एरियालाई संवेदनशिल अनुमान गरेर ड्रोनबाट निगरानी गर्ने र त्यहाँ आवश्यकता अनुसारको ‘अन द स्पट’ थप प्रहरी खटाउने योजना रणनीति तयार पारिएको छ,’ उनले भने । यसको अलावा सबै जिल्लामा सिसिटीभी क्यामरासमेतको सहायतले सुरक्षा निगरानी गरिने रणनीति बनाइएको उनी बताउँछन् ।

यात्रु सहायता कक्ष

लागू गरिएको सुरक्षा योजनामा प्रदेश प्रहरीले यात्रुहरुको सवालमा पनि विशेष ख्याल गरेको छ । जसअनुसार प्रदेशभर ५५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । कुनै पनि यात्रुले असहजता खेप्न नपरोस्, यात्रा गर्दा कुनै समस्या नहोस्, बढी भाँडा असुलीको मारमा नपरुन् भन्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको प्रदेश प्रहरीको दाबी छ ।

यस्तै बाहिरी देशहरुबाट नेपाल प्रवेश गर्ने यात्रुहरुका लागि २८ स्थानमा सहायता कक्षको व्यवस्था गरेको बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै