काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ ।
समितिले बिहान १० बजेदेखि उम्मेदवारका लागि मनोनयन फारम वितरण सुरु गरेको हो ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दिन इच्छुक नेताहरूले सभागृहबाटै मनोनयन फारम लिन सक्नेछन् ।
महाधिवेशन प्रतिनिधिहरूको नामावलीसमेत राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ ।
उम्मेदवारले मनोनयन दर्ताका लागि तोकिएको शुल्क प्रभु बैंकका कर्मचारीमार्फत सभागृह परिसरमै बुझाउने व्यवस्था मिलाइएको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
उम्मेदवारी दर्तापछि निर्वाचन कार्यतालिकाअनुसार दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकारमा ठूलो वृद्धि गरेको छ ।
सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ ।
त्यस्तै पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ संरचनाअनुसार कांग्रेसमा एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था थपिएको छ ।
अब उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पुर्याइएको छ भने तीनमध्ये एक पदमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।
त्यस्तै दुई खुला सहमहामन्त्री पद थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । पार्टीले यसपटक प्रवक्ता पदसमेत थप गरेको छ ।
आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । त्यतिबेला पदाधिकारीको संख्या १४ थियो ।
महाधिवेशन प्रतिनिधिको संख्या, समावेशी सहभागिता र पार्टीको संगठनात्मक संरचना विस्तारलाई ध्यानमा राख्दै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको संख्या बढाइएको कांग्रेसको भनाइ छ ।
नयाँ व्यवस्थासँगै यसपटकको महाधिवेशनमा नेतृत्वका आकांक्षीको संख्या पनि बढ्ने देखिएको छ ।