ट्रेन्डिङ

लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्लामा तानिए, के हुँदैछ अनुसन्धान ?

वीरगन्ज । लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टरसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूसँग १० हजार रुपैयाँ लिएर छाडेको सूचना पाएपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरी हवल्दार र जवानले मात्र नभई इन्सपेक्टरको समेत मिलेमतोमा रकम लिएको देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर थप अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले बताए ।

उनका अनुसार घुसबापत लिएको रकमसमेत फेला परेको छ ।

घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।

घटनाको विस्तृत अनुसन्धानका लागि पर्सा प्रहरीले डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिले अहिले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान पूरा भएपछि समितिले तयार पार्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ ।
त्यसपछि इन्सपेक्टर अधिकारीसहित तीनै जना प्रहरीमाथि थप कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै