वीरगन्ज । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन वीरगन्जमा सुरु भएको छ ।
ब्रह्मचोकस्थित एक पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गर्दैछ ।
महाधिवेशनअन्तर्गत निर्वाचन समितिले प्रतिनिधिहरूको नामावली रुजु गरी बन्दसत्रमा प्रवेश गराउने प्रक्रिया अघि बढाइरहेको छ ।
बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेको छ ।
अध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेपछि राउत निर्विरोध चयन हुने निश्चित भएको छ ।
तर अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन समितिका अनुसार ७ उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् ।
महासचिव पदमा ३ जना र उपमहासचिव पदमा २ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, ७ जना सचिव चयन हुने पदका लागि १० जना उम्मेदवार मैदानमा छन् ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा भने ७३ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै जनमत पार्टीले आगामी कार्यदिशा, नीति तथा रणनीतिबारे समेत निर्णय गर्ने तयारी गरेको छ ।
संगठनलाई थप व्यवस्थित बनाउने तथा आगामी राजनीतिक गतिविधिका लागि आवश्यक रणनीति तय गर्ने विषय पनि महाधिवेशनको एजेन्डामा रहेको पार्टीले जनाएको छ ।