वीरगन्ज । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको आरोप लगाउँदै पर्साका २७ जना कांग्रेस नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनमा कार्यकर्ताको भावनालाई बेवास्ता गर्दै आसेपासेलाई क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा ल्याइएको आरोप लगाउँदै उनीहरूले सामूहिकरूपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
कांग्रेस पर्साका जिल्ला सदस्य हिरालाल कानुसहित २७ जना नेता–कार्यकर्ताले बुधबार जिल्ला सभापतिलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन् ।
उनीहरूले पछिल्लो समय पार्टीभित्र देखिएका विकृति र विसंगति सुधार गर्नुको सट्टा वर्षौंदेखि पार्टीमा हालीमुहाली गर्दै आएका केही नेताहरूले नातावाद, कृपावाद र झोले प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
राजीनामा पत्रमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनमा वास्तविक कार्यकर्तालाई बाइपास गरी आफू निकट व्यक्तिहरूलाई अवसर दिइएको आरोप लगाइएको छ ।
पार्टीभित्रको यस्तो प्रवृत्तिले आफूहरू निराश भएको भन्दै बाध्य भएर सामूहिक रूपमा पार्टी परित्याग गर्नुपरेको उनीहरूले बताएका छन् ।
पार्टी परित्याग गर्नेमा कांग्रेस पर्साका जिल्ला सदस्य हिरालाल कानुसहित वीरगन्ज महानगरपालिका–१० का सोनाल गुप्ता, वीरेन्द्र साह कानु, तिलक साह कानु, लक्ष्मण कानु, दीपक साह कानु, डा. जयकुमार गुप्ता, डा. राजकुमार गुप्ता, अनिता देवी गुप्ता, काजल कुमारी, भरत साह कानु, मुनिलाल साह कानु, सञ्जय चौधरी, रोहित चौधरी र सरोजकुमार साहलगायत २७ जना छन् ।
राजीनामा दिएका कानु यसअघि दुईपटक कांग्रेसको बुथ सभापतिसमेत भइसकेका थिए ।
उनी २०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
उनीहरूले पार्टीभित्र लामो समयदेखि सक्रिय रहेका कार्यकर्ताको योगदानको मूल्यांकन नगरी व्यक्तिगत स्वार्थ र पहुँचका आधारमा जिम्मेवारी तथा प्रतिनिधित्व बाँडिएको आरोप लगाएका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत पर्सामा सम्पन्न क्षेत्रीय अधिवेशनपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको उनीहरूको भनाइ छ ।
क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा देखिएको असन्तुष्टिलाई पार्टी नेतृत्वले सम्बोधन नगरेको भन्दै आफूहरू पार्टीबाट अलग भएको उनीहरूले राजीनामा पत्रमार्फत जनाएका छन् ।
