ट्रेन्डिङ

वीरगन्ज महानगरको बजेट २१ करोड घट्यो, उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि यसअघि ल्याइएको बजेट संशोधन गर्दै २१ करोड रुपैयाँ घटाएको छ ।

बुधबार सम्पन्न महानगरपालिकाको २१औँ विशेष नगरसभाले चालु आर्थिक वर्षका लागि ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट पारित गरेको हो ।

यसअघि असार १० गते सम्पन्न २०औँ नगरसभाबाट ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याइएको थियो ।

मेयर राजेशमान सिंह निलम्बनमा रहेका बेला तत्कालीन कार्यवाहक मेयर इम्तियाज आलमको सभाध्यक्षतामा उक्त बजेट पारित भएको थियो ।

विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गतेदेखि पुनः महानगरको नेतृत्व सम्हालेका सिंहले बुधबार विशेष नगरसभा बोलाएर बजेट संशोधन गरेका हुन् ।

महानगरले संशोधन गरेको बजेटमध्ये चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यो कुल बजेटको ५६ प्रतिशत हो । त्यस्तै पुँजीगत खर्चतर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ अर्थात् १ प्रतिशत छुट्याइएको छ ।

महानगरका अनुसार संशोधित बजेटको खर्च व्यवस्थापनका लागि आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड रुपैयाँ स्रोत जुटाउने अनुमान गरिएको छ ।

संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड र नगर विकास कोषबाट १५ करोड रुपैयाँ स्रोत परिचालन गर्ने महानगरको संशोधित बजेटमा उल्लेख छ ।

आन्तरिक राजस्व परिचालनमा संकुचन आएको, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट प्रक्षेपण गरिएअनुसार स्रोत प्राप्त हुन नसकेको र अनिवार्य चालु खर्च बढेका कारण बजेट संशोधन गर्नुपरेको मेयर सिंहले बताएका छन् ।

विशेष नगरसभामा मेयर सिंहले महानगरका आगामी प्राथमिकतासमेत प्रस्तुत गरेका छन् ।

घण्टाघरनजिक निर्माणाधीन बीपी उद्यानलाई वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तारसहित सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरी चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने उनले बताएका छन् ।

त्यस्तै रातिको समयमा वीरगन्जलाई सुरक्षित र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘उज्यालो वीरगन्ज’ अभियानलाई थप प्रभावकारी बनाउने उनले बताए ।

महानगरका मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी र हाइमास्ट बत्ती जडानलाई तीव्रता दिँदै शहरको कुनै पनि क्षेत्रलाई अँध्यारोमा रहन नदिने उनको प्रतिबद्धता छ ।

कांग्रेसको ह्वीप, उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित

विशेष नगरसभामा उपमेयर इम्तियाज आलमसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू भने सहभागी भएनन् ।

कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएको थियो ।

पार्टीको ह्वीपका कारण उपमेयर आलमसमेत नगरसभामा उपस्थित नभएका हुन् ।

तर १५६ जना नगरसभा सदस्यमध्ये ११८ जना सहभागी भएपछि विशेष नगरसभाले आवश्यक बहुमत पुर्‍याएको थियो ।

उपस्थित नगरसभा सदस्यहरूको बहुमतबाट मेयर सिंहले प्रस्तुत गरेको ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट पारित भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै