ट्रेन्डिङ

दाइजो, बालविवाह र लागुऔषधविरुद्ध पर्सा प्रहरीको एक्सन, गाउँ–गाउँ पुग्ने अभियान सुरु

वीरगन्ज । पर्सा प्रहरीले दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनविरुद्ध गाउँ–गाउँ पुगेर अभियान सञ्चालन गर्ने भएको छ ।

सामाजिक कुरीतिका घटना न्यूनीकरण गर्दै सुरक्षित तथा कुरीतिमुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीले अभियान सुरु गरेको हो ।

‘नागरिक–प्रहरी सहकार्य, सुरक्षित र कुरीतिमुक्त समाज’ नाम दिइएको अभियान शनिबारदेखि औपचारिकरूपमा सुरु गरिएको छ ।

वीरगन्ज महानगरपालिका–२० हरपतगन्जमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरी अभियानको उद्घाटन गरिएको हो ।

अभियानअन्तर्गत पर्साका विभिन्न गाउँ तथा समुदायमा पुगेर विशेषगरी विद्यार्थी, महिला र युवालाई लक्षित गर्दै दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनका कारण तथा त्यसबाट समाजमा पर्ने असरबारे सचेतना फैलाइने प्रहरीले जनाएको छ ।

पर्सामा यी तीनवटै सामाजिक समस्या जरा गाडेर बसेको तथ्यांकले देखाइरहेकाले कुरीतिमुक्त समाज निर्माणका लागि अभियान थालिएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले बताए ।

‘यी तीनवटै सामाजिक समस्या पर्सामा जरा गाडेर बसेको तथ्यांकले देखाइरहेको छ,’ उनले भने, ‘कानुन कार्यान्वयनसँगै समाजलाई सचेत र जिम्मेवार बनाएर कुरीति अन्त्य गर्ने उद्देश्यले अभियान सुरु गरेका हौँ।’

सामाजिक कुरीति नियन्त्रण प्रहरीको मात्रै प्रयासबाट सम्भव नहुने भन्दै एसपी भट्टराईले नागरिक, युवा तथा विद्यार्थीको प्रत्यक्ष सहभागितालाई अभियानको मुख्य आधार बनाइएको बताए ।

अभियान उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाजमा हुने कुरीतिका घटनाविरुद्ध आवाज उठाउन र त्यस्ता गतिविधिबारे प्रहरीलाई तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरे ।

‘अब तपाईंहरूको घरमा कुनै महिलामाथि कुटपिट भयो भने त्यो घरेलु हिंसा हो । कम उमेरमा कसैको विवाह गरियो भने त्यो बालविवाह हो । युवाले रमाइलोका लागि लागुऔषध सेवन गर्छन् भने त्यो लागुऔषध दुव्र्यसन हो,’ उनले भने, ‘त्यसकारण सभ्य समाज निर्माणका लागि यस्ता गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नुस् । हामी त्यस्ता घटना रोक्न तत्काल आइपुग्छौँ।’

प्रहरी प्रमुखको यस्तो आह्वानपछि कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरूले सामाजिक कुरीति नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका पर्सा प्रमुख, सशस्त्र प्रहरी बलका प्रतिनिधिलगायत सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता थियो ।

उनीहरूले सामाजिक कुरीति नियन्त्रणलाई प्रहरीको मात्रै जिम्मेवारीका रूपमा नहेरी हरेक नागरिकले आफ्नो तहबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अभियानको उद्घाटन कार्यक्रममा दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनका कारण तथा त्यसबाट हुने असरबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रहरीले अभियानलाई जिल्लाका विभिन्न गाउँ तथा समुदायसम्म विस्तार गर्दै कुरीतिविरुद्ध जनचेतना अभिवृद्धिसँगै यस्ता घटनाको सूचना संकलन र कानुनी कारबाहीलाई समेत प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै