बाराको होटलमा एक युवती मृत फेला, दुइजना पक्राउ

बारा । बारा जिल्लाको निजगढस्थित एक होटलमा बसेकी एक युवतीको रहस्यमय मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार निजगढ नगरपालिका–१२ निवासी २५ वर्षीया सीता थिङ बुद्धचोकमा रहेको गुरुङ होटल को कोठाभित्र गम्भीर अवस्थामा भेटिएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि स्थानीय सामुदायिक अस्पताल प्रसूति गृह लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना वैशाख २५ गते राति करिब १० बजेतिर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा मृतकसँगै होटलको कोठामा १८ वर्षीया अनु सुनार रहेको खुलेको थियो।

प्रहरीका अनुसार उनीहरूसँग आएका दुई पुरुष घटना भएपछि सम्पर्कविहीन बनेका थिए।

फरार हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीका महेश माझी र सुनिल बोम्जन रहेका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।

प्राविधिक निगरानी र सूचनाका आधारमा प्रहरीले सुनिल बोम्जनलाई टाँगिया बस्ती नजिकैको जंगल क्षेत्रबाट र महेश माझीलाई निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित ले जानकारी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै