वीरगन्ज। बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) भित्र अतिक्रमित ५०० बिघा सरकारी जग्गा खाली गर्न संघीय सरकारले निर्देशन दिएको छ।
उद्योग मन्त्रालय अन्तर्गतको सेज प्राधिकरणले जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र लेख्दै अतिक्रमण हटाउन उर्दी दिएको हो । यो पत्र बैशाख ९ गते पठाइएको जनाइएको छ ।
पत्र अनुसार वडा नम्बर ४, १४ र १५ का विभिन्न ब्लकहरूमा केही व्यक्तिले अनुमति बिना घर–टहरा बनाएका छन् र खेतीपाती गरेर जग्गा कब्जा गरेका छन्। प्राधिकरणले पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि अहिले कडा कदम चाल्नुपरेको जनाएको छ।
अब त्यहाँ बनेका घर–टहरा हटाउन, लगाइएका बाली उठाउन र नयाँ बाली नलगाउन सबैलाई जानकारी गराउन भनिएको छ।
सिमरा सेज ५ वटा ब्लकमा विभाजन गरिएको छ। ‘ए’ ब्लकको केही भाग बाहेक बाँकी अधिकांश जग्गा अतिक्रमणमा परेको छ।
यसअघि पनि उद्योग मन्त्रालयले पटक–पटक अतिक्रमण हटाउन पत्राचार गरेको थियो। तर काम अघि नबढेपछि पुरानो मन्त्रिपरिषद्को निर्णय अनुसार फेरि निर्देशन दिइएको हो।
जग्गाको भाडा घटेपछि अहिले सेजमा उद्योग खोल्न चाहनेहरूको संख्या बढेको छ। तर अतिक्रमणका कारण नयाँ उद्योगका लागि जग्गा अभाव भइरहेको छ।
उता, पहिलेको वीरगञ्ज चिनी मिलका करिब ९३ घरधुरी मजदुरहरू पनि त्यही सेज क्षेत्रमा बस्दै आएका छन्।