वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धितोपत्र बजारसम्बन्धी अनियमितता प्रकरणमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी डा. मनोज केसीका अनुसार नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक प्रतिवेदनका आधारमा गोल्छामाथि अनुसन्धान सुरु गरिएको हो।
प्रतिवेदनले धितोपत्रसम्बन्धी ऐन, २०६३ का विभिन्न दफाअन्तर्गत कसूरको आशंका औंल्याएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
बोर्डको अनुसन्धानले केही बीमा कम्पनीहरूको कोष प्रयोग गरी सेयर बजारमा चलखेल गरिएको संकेत गरेको छ।
प्रतिवेदनअनुसार विवादित व्यवसायी दिपक भट्ट ले विभिन्न व्यक्ति तथा निजी कम्पनीबाट कम मूल्यमा सेयर खरिद गरी मूल्य कृत्रिम रूपमा बढाएर बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको देखिएको छ।
यस प्रकरणमा भट्टसँगै भृकुटी स्टक ब्रोकिङ कम्पनी का प्रमुख कार्यकारी अधिकृत संदीप चाचानलाई मुख्य योजनाकारका रूपमा औंल्याइएको छ।
उनीहरूद्वारा धितोपत्र बजारमा प्रभाव पार्ने तथा जालसाजीपूर्ण कारोबार भएको निष्कर्ष बोर्डले निकालेको छ।
भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन् भने चाचान अझै फरार रहेका छन्।