ट्रेन्डिङ

मधेसका यातायात कार्यालयहरुका लागि प्रदेश सरकारको ११ बुँदे फर्मान, के–के छन् निर्देशन ?

जनकपुर । मधेस प्रदेश सरकारले यातायातको क्षेत्रमा चुस्तदुरुस्त सेवा प्रवाह गर्न कडा निर्देशन दिएको छ ।

प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयले यही साता एक विज्ञप्ती जारी गर्दै मातहतका सबै यातायात कार्यालयहरुलाई ११ बुँदे निर्देशन जारी गरेको हो ।

मन्त्रालयले मातहतका यातायात व्यवस्था कार्यालयहरूलाई ११ बुँदे निर्देशन कार्यान्वयन गर्न पत्राचार गर्दै तत्काल सुधार गर्न आदेश दिएको हो ।

जसअनुसार मन्त्रालयले पहिलो नम्बरमै सम्पूर्ण कार्यालयहरुमा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी नागरिक वडापत्र राख्न फर्मान जारी गरेको छ ।

सेवा लिन आउने नागरिकलाई सहज वातावरण उपलब्ध गराउन प्रत्येक कार्यालयमा हेल्प डेस्क स्थापना र नागरिक वडापत्र अनिवार्य राख्न जारी विज्ञप्तीमा लेखिएको छ भने सेवाग्राहीको भीड व्यवस्थापनका लागि टोकन प्रणाली लागू गरी लाइन व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, गुनासो तथा सुझाव संकलनलाई प्रभावकारी बनाउन गुनासो पेटिका, फेसबुक पेज वा अन्य माध्यमबाट प्राप्त गुनासोको तत्काल समाधान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सूचना प्रवाहलाई पारदर्शी बनाउन सम्बन्धित कार्यालयको फेसबुक पेज, वेबसाइट, सूचना पाटी वा डिस्प्ले बोर्डमा सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर सार्वजनिक गर्न मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जय कुमारले जारी विज्ञप्तीमार्फत निर्देशन दिएका छन् ।

यस्तै कार्यालयहरूमा सेवाग्राहीका लागि पिउने पानीको व्यवस्था, सरसफाइमा विशेष ध्यान (विशेषगरी शौचालय र कार्यालय परिसर) र सेवाग्राही तथा कर्मचारीका लागि पार्किङ व्यवस्थापन मिलाउन उल्लेख गरिएको छ ।

सेवाको समय सीमा निर्धारण गरी ढिलासुस्ती गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्न चेतावनी दिएको छ । साथै नागरिक सन्तुष्टि मापनका लागि सर्वेक्षण फारम तयार गरी नियमित रूपमा सूचना संकलन गर्न पनि आग्रह गरिएको छ ।

बिचौलिया नियन्त्रणलाई प्राथमिकतामा राख्दै कार्यालयहरूलाई ‘नो मिडल म्यान जोन’ घोषणा गर्न र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यसैगरी प्रत्येक कोठामा स्पष्ट रूपमा नम्बर तोकी सो कोठाबाट हुने कामबारे जानकारीका लागि स्पष्ट रुपमा इनामेल पेन्टले लेख्न मन्त्रालयको अनुरोध छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै