वीरगन्ज ।जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु गरेको छ।
सेवाग्राहीलाई सरल र छरितो सेवा दिने सरकारी नीतिअनुसार पर्सा सिडिओ कार्यालयले ‘ह्यान्ड टु ह्यान्ड’ प्रणाली लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बैशाख ३ गतेदेखि नयाँ नागरिकता बनाउनेहरुलाई सोही समयमै राष्ट्रिय परिचयपत्र पनि वितरण गर्न थालिएको हो।
“अहिले सुरुवाती चरणमा नयाँ नागरिकता लिनेहरुलाई हातोहात परिचयपत्र दिइरहेका छौं, प्रतिलिपिका हकमा भने यो सेवा लागू गरिएको छैन,” उनले बताए।
नागरिकताको प्रमाणपत्र तयार भएपछि सोही समयमा बायोमेट्रिक प्रक्रिया सम्पन्न गरी राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै विवरण प्रणालीमा समावेश गरिन्छ।
यसले गर्दा सेवाग्राहीले छुट्टै दिन आउनु नपर्ने, लाइन बस्न नपर्ने र अतिरिक्त खर्च पनि नहुने दाहालले बताए। “यसबाट सेवाग्राहीलाई ठूलो राहत मिल्नेछ,” उनले भने।
जिल्ला प्रशासन कार्यालयका आइटी शाखाका जागृत साहका अनुसार सिसिआइएमएस प्रणालीमार्फत नागरिकताको विवरण स्वतः राष्ट्रिय परिचयपत्र प्रणालीमा जाने भएकाले प्रक्रिया छिटो भएको हो।
“नागरिकता तयार भएको करिब ५ मिनेटभित्रै राष्ट्रिय परिचयपत्र पनि तयार हुन्छ,” उनले जानकारी दिए।
सेवा लिन पुगेका सेवाग्राहीहरू पनि नयाँ व्यवस्था प्रति सन्तुष्ट देखिएका छन्।
बिहीबार नागरिकता लिन पुगेकी रञ्जीता कुमारीले नागरिकतासँगै परिचयपत्र पाउँदा खुसी व्यक्त गर्दै यस्तै सहज सेवा निरन्तर हुनुपर्ने बताइन्।
जिल्ला प्रशासन कार्यालय पर्साबाट दैनिक करिब ५० देखि ६० जनालाई नागरिकता वितरण हुँदै आएको छ।