ट्रेन्डिङ

एसईई परीक्षा : पर्सामा कस्तो रहयो पहिलो दिनको परीक्षा ? के भन्छन शिक्षा विकास तथा समन्वय समिति प्रमुख ?

वीरगन्ज । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । देशभर एकैसाथ परीक्षा सुरु भएको हो ।

पर्सा जिल्लामा विहानदेखि सुरु भएको परीक्षा मर्यादित तथा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदै विद्यार्थीहरु औपचारिकरूपमा परीक्षामा सहभागी भएका छन् ।

विहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएको शिक्षा विकास तथा समन्वय एकाइ समिति पर्साले जनाएको छ । पहिलोदिनको परीक्षा मर्यादित, भीडभाडरहित तथा शान्तिपूर्णरुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ समिति पर्साका इकाइ प्रमुख मोतीप्रसाद भट्टराइले जानकारी दिए ।

उनका अनुसार यो वर्षको एसइइको परीक्षा विगत भन्दा एकदम शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । उनी भन्छन्, ‘विगतका दिनहरुमा परीक्षाबाहिर धेरै भीडभाँड हुने गथ्र्यो, तर योपटक त्यो अवस्था देखिएको छैन । हलभित्र पनि विद्यार्थीहरुले मोबाइल लैजान सकेका छैन, त्यसकारण सोचेको भन्दा बढी मर्यादितरुपमा परीक्षा सम्पन्न भएको छ ।’

पर्सा जिल्लामा योपटकको एसइइको परीक्षामा जिल्ला भरबाट १० हजार ७ सय ३ जना विद्यार्थीहरुले परीक्षामा भाग लिएको विकास तथा समन्वय एकाइ समिति पर्सा बताउँछ ।

यद्यपी, पहिलोदिनको परीक्षाबाट कति विद्यार्थी गयल भएका छन? त्यो हरहिसाबको विवरण आइनपुगेको समन्वय एकाइ समितिले जानकारी दिएको छ ।

कुनकुन परीक्षा केन्द्रमा हुँदैछ एसईई ?

पर्सा जिल्लामा योपटक २७ वटा परीक्षा केन्द्रमा एसइइको परीक्षा चलिरहेको छ । जिल्ला समन्वय समितिको छनौट अनुसार २७ वटा परीक्षा केन्द्रहरुबाट एसइइको परीक्षा सञ्चालन भइरहेको छ ।

त्रिजुद्ध, सुराकन्या मावि वीरगन्ज,त्रिभुवन हनुमान मावि वीरगन्ज, श्रीनेरामावि नगवा, माइस्थान विद्यापीठ मावि आदर्शनगर, श्री राचसाप मावि वीरगन्ज, श्रीनेरामावि बर्वाछटैली, श्रीनेराममावि बडेर्वा, श्री दीप नाआ मावि पञ्चगावा, श्रीराकृचौमावि बहुअर्वा भाठा, नेरामावि मसिहानी, श्री जिउराकमावि पोखरिया, रामचरित्र भगत मावि पकहाँमैनपुरमा एसइइको परीक्षा चलिरहेको छ ।

यसैगरी मंगल मावि भिस्वा, वितो महतो जनता मावि जीतपुर, नेरामावि निचुटा, श्री माध्यमिक विद्यालय विजयवस्ती, देदेमावि रामनगरी, रेल्वे मावि गोश्वारा रोड वीरगन्ज, सुरजीदेवी मावि वीरगन्ज, श्रीनेरामावि श्रीपुर वीरगन्ज, सिद्धार्थ मावि वीरगन्ज, नृसिंह मावि पिपरामठ, द्वारदेवी मावि अलौं र शारदा मावि बहुअरी सुगौलीलाई एसइइको परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै