। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मालपोत कार्यालय पर्सामा भएको ठूलो राजस्व हिनामिनाको प्रकरणमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गर्दै करिब २ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ मा अनियमितता भएको भेटिएको हो।
अनुसन्धानका क्रममा एउटै नम्बरलाई दोहोरो तथा तेहेरो प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ।
यस्तै, कम राजस्व देखिएका लिखतहरू मात्र बैंकमा दाखिला गरी उच्च राजस्व उठ्ने लिखतबाट प्राप्त रकम भने लेखा शाखामा दाखिला नगरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
यसरी कुल २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ।
मुद्दामा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको कैद र दोब्बर जरिवाना माग गरिएको छ।
यसैगरी, स्वर्गीय नायब सुब्बा किरणप्रसाद उपाध्यायको हकमा उनका हकदारहरू राजकिशोर, गौतम, पशुपति र मुरारी प्रसाद उपाध्यायबाट हिनामिना भएको रकम असुलउपर गर्न माग गरिएको आयोगले जानकारी दिएको छ ।