काठमाडौं । पूर्व ऊर्जा मन्त्री तथा दीपक खड्का लाई जेनजी आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत खड्काविरुद्ध जारी गरिएको पक्राउ पुर्जी सार्वजनिक गर्दै भदौ २४ गते भएको आन्दोलनका क्रममा उनको घरबाट फेला परेको रकमको स्रोत र प्रकृतिबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको बताएका हुन्।
उक्त आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको निवासमा आगजनी गरेका थिए।
आगलागीबाट जलेको अवस्थामा भेटिएको नगद तथा अन्य सामग्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरी अनुसन्धान अघि बढाएको थियो।
आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो।
उनीमाथि बरामद रकमको वैधता र त्यससँग सम्बन्धित सम्भावित आर्थिक गतिविधिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।