काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा मन्त्री सिन्हाले भावुक वातावरणबीच पदबाट बिदाइ लिएका छन्।
कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समारोहमा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रीको कार्यकालको समीक्षा प्रस्तुत गर्दै मंसीर २८ गतेदेखि हालसम्मको १०५ दिनमा भएका प्रमुख निर्णय तथा उपलब्धिहरूको विवरण सार्वजनिक गरे।
उनले छोटो अवधिमै नीति तथा संरचनागत सुधारका थुप्रै पहलहरू अघि बढाइएको उल्लेख गरे।
बिदाइ मन्तव्य राख्दै मन्त्री सिन्हाले कर्मचारीहरूलाई राष्ट्रको महत्वपूर्ण सम्पत्ति भन्दै विकासको प्रमुख आधारका रूपमा व्याख्या गरे।
उनले राजनीतिक नेतृत्वले कर्मचारीलाई सही दिशा दिन सकेमा मुलुकको समग्र विकासले गति लिने धारणा व्यक्त गरे।
साथै, आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू व्यक्तिगत नभई सामूहिक प्रयासको प्रतिफल भएको भन्दै सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गरे।
उनले कार्यपालिकासँगै न्यायपालिकाको अनुभव प्राप्त गरेको र राष्ट्रिय सभामा विधेयकसम्बन्धी छलफलमा सहभागी भई व्यवस्थापिकाको अभ्यास गर्ने अवसर समेत पाएको उल्लेख गरे।
त्यसैगरी, भदौ २३ र २४ गते सहादत प्राप्त गरेका शहीदहरूको सम्मानमा आमनिर्वाचन सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरिएको उनको भनाइ थियो।
आगामी दिनमा नयाँ सरकारले ‘जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र तीव्र बनाउनु आवश्यक रहेको उनले जोड दिए।
कार्यक्रमको अन्त्यमा मन्त्री सिन्हाले मन्त्रालयका सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै भावुक हुँदै बिदाइ भएका थिए।