काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई आधार बनाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा मूल्य समायोजन गरेको हो।
निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू हुने गरी निर्धारण गरिएको छ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४३ रुपैयाँ र तेस्रो वर्गमा १४४ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमका अनुसार मध्यपूर्व तथा पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य चर्किएको छ।
आफ्नै पेट्रोलियम स्रोत नभएका मुलुकका लागि यस्तो परिस्थितिमा आपूर्ति व्यवस्थापन र मूल्य समायोजन दुबै चुनौतीपूर्ण हुने निगमले उल्लेख गरेको छ।