काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालत मा सुनुवाइ सम्पन्न भएको छ ।
न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गाना को संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग नेपाल को निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले सो मुद्दामा आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
निर्वाचन आयोगले साह कालोसूचीमा परेको आधार देखाउँदै उम्मेदवारीका लागि आवश्यक योग्यता नपुगेको भन्दै उनको उम्मेदवारी रद्द गरेको थियो ।
उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा भने उल्लेख्य मत खसेको थियो ।
तर, आयोगले सो निर्वाचन क्षेत्रबाट मातृका यादव लाई विजयी घोषित गरिसकेको छ ।
उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हुन् ।
यसैबीच, सर्वोच्च अदालतले कालोसूचीसम्बन्धी अर्को रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार कर्जा सूचना केन्द्रसहित सम्बन्धित निकायलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।