ट्रेन्डिङ

रौतहटमा दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिला सहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

पीडित बिर्जा राम चमारको जाहेरीका आधारमा बुधबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन्।

फरार आरोपीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ।

फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि सन्तपुरस्थित दलित टोलमा उक्त घटना भएको बताइएको छ।

पीडितका अनुसार सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूह लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै पसेर कुटपिट गरेको थियो।

आक्रमणकारीहरूले घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेका थिए।

घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको पीडितले बताएका छन्।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ।

त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको बताइएको छ।

ललन राम चमारको अनुहार र शरीरमा चोटपटक लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार घटना हुनुभन्दा करिब एक घण्टा अघि दुई पक्षबीच सामान्य भनाभन भएको थियो।

सो क्रममा विपक्षी समूहले राजकुमार रामलाई घरभन्दा केही टाढा कुटपिट गरेको र प्रतिवादका क्रममा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ।

त्यसपछि विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको बिर्जा राम चमारले बताएका छन्।

घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा आफू र आफ्नै छोरालाई पक्राउ गरी हथकडी लगाएर लगेको उनले आरोप लगाए।

केही समय थुनामा राखेर कुटपिटसमेत गरिएको र पछि इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको पीडित पक्षको दाबी छ।

स्थानीय समाजसेवी तथा फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको जानकारी पाएपछि उनले इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए।

“तर उहाँले कुरा नसुनेपछि मैले जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराएँ। त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई छोडिएको हो,” उनले भने।

पीडितका अनुसार घटनापछि एक सातासम्म पनि जाहेरी दर्ता गरिएको थिएन।

आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुर पुगेर उजुरी दर्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरिएको र उल्टै धम्की दिइएको आरोप लगाइएको छ।

यता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन्।

पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात बाबु–छोरालाई जिम्मा–जमानिमा छोडिएको उनले बताएका छन्।

स्थानीयवासीका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएदेखि क्षेत्रमा अराजक गतिविधि बढेको आरोप लगाइएको छ।

केही समयअघि पनि विजयपुर क्षेत्रमा लाखौँ रुपैयाँको कौडा जुवा खेलाइएको भन्दै स्थानीयले विरोध जनाएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै