जनकपुर । सिरहामा रहेको एक ल फर्ममा बम विस्फोट भएको छ । जिल्लाको अदालत अगाडि सञ्चालनमा रहेको मधेश ल फर्ममा सोमबार साँझ करिब ५ बजे बम विस्फोट भएको प्रहरीले पुष्टि गरेको हो ।
सिरहा प्रहरी प्रमुख एसपी बासु पाठकका अनुसार विस्फोट हुँदा उक्त फर्ममा कार्यरत सौरभ यादव सामान्य घाइते भएका छन् ।
उनलाई सामान्य उपचार गरिएको बताइएको छ ।
विस्फोटका कारण फर्मको सिसा फुट्नुका साथै भित्र रहेका केही कागजात र फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विस्फोट गराइएको बमको प्रकारबारे यकिन हुन सकेको छैन । घटनास्थलमा नेपाली सेनाको टोली पुगेर अनुसन्धान सुरु गरिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।