रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
पूर्वमन्त्री तथा विवादित नेता स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११ हजार ८६ मतान्तरले पराजित गरेका छन् ।
यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४ सय ४२ मत ल्याउँदै दोस्रो स्थानमा रहे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेका छन् ।
अन्य उम्मेदवारतर्फ जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९ सय ६० मत प्राप्त गरे भने नेकपा (एमाले)का मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत ल्याए ।
त्यसैगरी आम जनता पार्टीका उम्मेदवार श्रीभगवान राउत कुर्मीले १ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।
अन्तिम मतपरिणामसँगै रौतहट–२ मा कांग्रेसले प्रतिनिधिसभा सिट आफ्नो पक्षमा पार्न सफल भएको छ ।