सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्ष लामो संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् ।
आइतबार बिहान सार्वजनिक भएको सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार सिंहले कांग्रेस सभापति थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन् ।
सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत ल्याए ।
थापा २०६४ सालदेखि संसदीय यात्रामा सक्रिय थिए ।
पहिलोपटक संविधान सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका उनले त्यसपछि लगातार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट जित हासिल गर्दै आएका थिए ।
गत पुसमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा समेत अघि सारेको थियो ।
तर यसपटक सर्लाही–४ बाट निर्वाचन लड्दा उनी अप्रत्याशित रूपमा पराजित भएका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित भएका थिए ।
त्यसपछि २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति बनेका थिए ।
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेका उनी २०५९ सालमा महामन्त्री बने ।
गणतन्त्रको पक्षमा खुलेर वकालत गरेका थापा त्यसबेला राजकाज मुद्दामा समेत परेका थिए ।
२०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको पक्षमा खेलेको भूमिकाले उनी राष्ट्रिय राजनीतिमा चर्चित बनेका थिए ।
कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थापा २०७२ सालको १३औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।
तर १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित हुँदै पार्टी नेतृत्वमा प्रभावशाली बने ।
दोस्रो संविधान सभामा काठमाडौं–४ बाट निर्वाचित भएका थापा २०७० सालमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए ।
यसपटक भने सर्लाही–४ मा रास्वपाका अमरेश कुमार सिंहसँग पराजित हुँदै उनको लामो संसदीय यात्रामा विराम लागेको छ ।